प्रधानाध्यापक

मधुसुदन पोख्रेल

प्रधानाध्यापक

श्री बालकल्याण माध्यमिक विद्यालय रोल्पा नगरपालिका -२ लिवाङ रोल्पाका प्रधानाध्यापक श्री मधुसुदन पोख्रेल २०५२ देखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।  माध्यमिक तह द्धितीय श्रेणीका शिक्षक उहाँले २०६५ देखि यस विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी निभाउदै आउनु भएको छ ।

प्रधानाध्यापक संदेश

परिवर्तनशिल ब्रह्माण्डमा सारा भुमण्डल तथा संसारिक जगत पनि परिवर्तनशिल छ । यहि जगतमा सिर्जनाभई विकास भएको मानवजाती, मानव समाज र सिङ्गो मानव सभ्यतालाई समयक्रम सगै गतिशील र विकसित बनाउने प्राकृत अस्त्र शिक्षा हो । शिक्षा नै यस्तो अस्त्र तथा माध्यम हो, जसले कुनै पनि संरचनाको जगलाई आधारभूत रूपमा बलियो बनाई त्यसलाई दीर्घकालीन जिवनको अस्तित्व स्थापित गराउन सबैभन्दा बलियो र ओजस्वी भुमिका खेल्छ । सायद त्यसैले पनि भनिन्छ “शिक्षा नै जीवन हो , शिक्षा बिनाको जीवन खासमा उन्नत जीवन होईन ।” 

  तर वर्तमान २१ औं शताब्दीको अढाइ दशक समय बितिसक्दा सम्म पनि मानव जीवनलाई सार्थक, समुन्नत तथा अर्थपूर्ण बनाउने र हाम्रो शैक्षिक जनशक्तिलाई बिश्वस्तरीय वा बिश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने सन्दर्भमा हाम्रो शिक्षा नीति, संरचना र शैक्षणिक बिधिहरु चुकिरहेका छन । तसर्थ साच्चिकै अर्थपूर्ण र बिश्व स्तरीय जनशक्ति उत्पादन गर्नकालागी हाम्रो शैक्षिक प्रणाली र संरचनालाई वर्तमान विश्वपरिवेशको सिमा भित्र रहेर समय सापेक्ष अद्यावधिक गर्न जरुरी छ । जस अन्तरगत  “श्रम र उत्पादन तथा संस्कार र आचरण”, हाम्रो जस्तो तेस्रो ध्रुवका मुलुकका निम्ति समाज र देशको अस्तित्वलाई जोगाउदै समग्रमा कोर क्षेत्रका बिकासशिल राष्ट्रको समकक्षमा पुग्नकालागी शिक्षा बाट छुटाउनै नहुने क्षेत्रहरु हुन ।

           गुरुकुल शिक्षा प्रणालीबाट सुरु भएर अहिलेसम्म आउँदा  हाम्रो शिक्षा प्रणाली अझैसम्म पनि श्रमसंस्कृतीमैत्री बन्न सकिरहेको छैन । अझै पनि शिक्षालय , विद्यालय तथा बिश्वविद्यालयहरु पुरातन गुरुकुल शिक्षा प्रणालीको पदचापमै रुमल्लिएका छन । यो पठन संस्कृतिलाई बदलेर श्रम संस्कृतिसग शिक्षालाई नजोडने हो भने हाम्रो परनिर्भरता कहिल्यै पनि आत्मनिर्भरतामा बदलिने लक्षण देखिदैन । नारामा जनमुखी शिक्षा, व्यबहारकुशल शिक्षा, प्राबिधिक शिक्षा, जिवनोपयोगी शिक्षा जेजे उपमा दिएपनि यी सबैको अन्तर्य खासमा श्रम र उत्पादनसंस्कृतीयुक्त सिप सहितको शिक्षा हो । सिपले दक्ष र निपुण बनाउछ, दक्षताले उत्पादन बढाउछ, उत्पादनले रोजगारी सृजना गर्छ, रोजगारीले परनिर्भरताको अन्त्य गर्दै आत्मनिर्भर बनाउछ, उत्पादन वृद्धिले राष्ट्रकै कुल गार्हस्थ उत्पादनको वृद्धि गर्छ, गार्हस्थ उत्पादन वृद्धि हुनु भनेको राष्ट्र नै समृद्ध हुनु हो ।

     त्यसैगरी, समयको बदलाव सगै बदलिदो समाजमा बिस्वब्यापिकरणको चक्रवातबाट मानव समाजको सभ्यता र संस्कृति पनि अतिक्रमणको चपेटामा परिरहेको छ । यो अतिक्रमणबाट आफ्नो सभ्यता र सत्वलाई जोगाउनकोलागि संसारमै पहिचानका मुद्दाहरु उठिरहेका छन । आफ्नो मौलिकता, पहिचान र सभ्यताको संरक्षण सहित परिस्करणकालागी शिक्षाले “संस्कार र आचरण” को पक्षलाई पनि समेट्नुपर्छ । अहिले संसारमै बहुधुब्रीय बिश्व ब्यबस्थाको नयाँ ढङ्गले बहस सृजना भई रहदा त्यस बहसको केन्द्रमा संस्कार, सभ्यता र दर्शन रहेका छन । कुनै पनि देशको अस्तित्व मेटाउनुछ भने सबैभन्दा पहिले त्यहाँको संस्कृती र सभ्यतामाथी आक्रमण गर्ने गरिन्छ । तसर्थ संस्कार र सभ्यताहरु देशको अस्तित्व जोगाउने बारुद बिनाका मिसाइल हुन । 

   पाश्चात्य चिन्तनको हाबी भएसगै सृष्टिको सबैभन्दा पुरानो तथा सभ्यताको जननिको रूपमा रहेको हाम्रो पूर्वीय चिन्तन ओझेलमा पर्दै गएको जस्तो देखिन्छ । त्यसैले पनि संसारमा आफ्नो सत्व तथा पहिचान जोगाउनको लागि ठुलाठुला संघर्षहरु भईरहेका पनि छन । संस्कार सहितको शिक्षा , नैतिक शिक्षा , देशभक्तिपुर्ण आचरण निर्माण, राष्ट्रियता र पहिचानको सम्मान आदि सबै यो क्षेत्रमा पर्छन । 

 तसर्थ, अबको शिक्षामा मुलभुतरुपले श्रम र उत्पादन तथा संस्कार र आचरणका पक्षहरुलाई नजरअन्दाज गरिनुहुदैन ।

       वर्तमान सन्दर्भमा शैक्षिक विकासका लागि प्रत्येक्ष जोडिएका मुख्य पक्षहरु भनेका सरकार ,समुदाय र शैक्षिक पेशाकर्मिहरु हुन । यी मध्ये कसैको भुमिका नीति निर्माण तथा कार्यक्रममा त कसैको भुमिका ब्यबस्थापन र कार्यान्वयनमा केन्द्रित छ । यी पक्षहरुबिचमा उन्नत प्रकृतिको अन्तरसमन्वय हुनुपर्नेमा त्यस्तो समन्वयको अभाव देखिन्छ , जसले गर्दा प्रतिफल आइरहेको छैन ।

   नेपालको संविधान २०७२ ले शिक्षालाई नागरिकको मौलिकहकको रूपमा राख्दै , संविधानको मर्म अनुरुप नागरिकको मौलिक हक कार्यान्वयनको सहजतताको निम्ति नागरिक सग सबैभन्दा निकट रहेको स्थानीय सरकार मातहत रहनेगरी शिक्षा क्षेत्रको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सिद्धान्तत: यो निकै व्यबहारकुशल पक्ष हो तर कस्तुरीलाई आफ्नै नाभिको बिणाको महत्त्व थाहा नभएझैँ कतिपय ठाउँमा स्थानीय तहले संविधानको यो मर्म र गाम्भिर्यतालाई मनन गर्न नसकेको जस्तो देखिन्छ । यसमा सुधार आउनुपर्छ । स्थानीय सरकारले स्थानीयता सापेक्षमा शिक्षा नीति तर्जुमा गर्दै कार्यान्वयनको लागि कार्यक्रमको पहलकदमी लिन सक्छ तर त्यो उपयुक्त र वस्तुबादी हुनुपर्छ । अहिले धेरै स्थानीय सरकारहरु केवल कर्मकाण्डीको रूपमा मात्रै चलिरहेका छन । स्थानीय सरकारको क्षमता विकासको निम्ति नयाँ बहसको जरुरी भईसकेको छ ।

त्यसैगरी शिक्षा सुधारको अर्को महत्त्वपूर्ण पक्ष हो समुदाय । समुदाय भित्र शैक्षिक सरोकार राख्ने सबै संघ संस्था तथा समुहहरु, अभिभावक , ब्यबस्थापन समिती लगायत पर्छन ।  समुदायको निर्बिकल्प भुमिकाको गुरुत्वलाई आत्मसात गरेरै सरकारले सार्वजनिक शिक्षा प्रणालीलाई सामुदायिक विद्यालयको फ्रेमभित्र राख्ने योजना ल्यायो । जुन समुदायको चेतना स्तर अगाडि छ, त्यो समुदायमा संचालित सामुदायिक विद्यालयहरु पनि नमुना र अब्बल बनेका छन , सिकाई केन्द्रको रूपमा बिकास भईरहेका छन । न्युन चेतना भएका समुदायहरुमा संचालित सामुदायिक विद्यालयहरुले अझै पनि  फड्कोमार्न सकिरहेका छैनन । तसर्थ एकरुपतामा बिकास गर्नकालागी सामुदायिक सचेतनामा पनि एकरुपता आउन जरुरी देखिन्छ ।

त्यसैगरी शिक्षाको सान्दर्भिक विकासका लागि छुटाउनै नहुने अर्को सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, शैक्षिक पेशाकर्मी वा शिक्षक । शिक्षाको विकासको लागि सरकारले प्राध्यापक, शिक्षक तथा प्रशिक्षकको रूपमा बिज्ञ ब्यक्तिहरुलाई खटाई सबै बालबालिकाहरुको भबिश्यलाई उनिहरुको हातमा सुम्पिएको छ । बिज्ञहरुले पाठ्यक्रम निर्माण गरेका छन र पाठ्यक्रमको उद्देश्य अनुरुप दक्ष जनशक्ति उत्पादनको जिम्मेवारी शिक्षक तथा प्रशिक्षकलाई दिइएकोछ । यो जिम्मेवारी पाएका दक्ष शिक्षकहरुले समय सापेक्ष अन्य अतिरिक्त शैक्षिक कार्यकलापहरु पनि संचालन गर्दै समय सापेक्ष बालबालिकाको सिकाई क्षमताको वृद्धि गराउन सक्छन तर सबै ठाउँमा यो उपलब्धि प्राप्त भएको देखिदैन । स्थान र समय सापेक्ष त्यसका अनेक कारणहरु हुनसक्छन । एउटै पाठ्यक्रममा उत्तिकै मेहनत , उत्तिकै समय,  उत्तिकै लगाव र उत्तिकै श्रम गर्दा पनि कुनै स्थान परिवेशका विद्यालयहरुले उच्च प्रतिफल तथा  सिकाई उपलब्धि प्राप्त गर्ने तर कुनै स्थान परिवेशका विद्यालयहरुले त्यो उपलब्धि हासिल गर्न नसक्नुको पछाडी के त्यस्तो बिशिष्टता छ ? हाम्रा विद्यालयहरुलाई उच्च उपलब्धि मुलक विद्यालयकोरूपमा कसरी उभ्याउन सकिएला ? आदि बिषयमाथी सामुदायिक विद्यालय सुधारकोलागी राष्ट्रिय बहस चलाउन जरुरी छ । अभिभावक, शिक्षक, सरकार र सरोकारवालाहरुको समन्वयबाट सामुदायिक विद्यालयको शिरलाई माथी उठाउदै समय सामेक्ष विकास गर्न असम्भव छैन । 

Scroll to Top